काठमाडौं । गत असोज ११ र १२ गतेको वर्षासँगै बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्ग सञ्चालनमा आएका छन् । दशैं अगाडि बाढीपहिरोका कारण भत्किएका सडकहरू कतै पूर्णरूपमा सञ्चालनमा आइसके भने कतै एकतर्फी मात्र सञ्चालनमा छन् ।
बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको जानकारी अनुसार ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा ७७४ स्थानको पहिरो हटाइएको थियो ।
अवरूद्ध सडक र बाढीले बगाएको पुल र सडक निर्माण गर्न करिब २० अर्बदेखि २५ अर्ब लाग्ने मन्त्रालयको अनुमान छ । क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाको स्थायी सुधारका लागि त्यति बजेट आवश्यक भएको जनाएको छ । दशैँअघि अरनिको राजमार्ग, बीपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग आंशिक रूपमा बन्द थिए ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ टेवा पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको थियो । तर पूर्णरूपमा क्षति भइसकेका राजमार्ग पनि अहिले सञ्चालनमा आएका छन् ।
पूर्ण क्षति पुगेका ५ राजमार्गको अवस्था अहिले कस्तो छ?
मेची राजमार्ग
वर्षापछि आएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग असोज २२ गते सञ्चालनमा आइसकेको छ । मेची राजमार्गको इलाम नगरपालिका-९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनर्निर्माणपछि सञ्चालनमा आएको हो ।
अवरुद्ध राजमार्गको अवरोध हटाएपछि चारपाङ्ग्रे साना र दुईपाङ्ग्रे सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । चारपाङ्ग्रे ठूला सवारी साधन र मालवाहक पनि सञ्चालनमा आइसकेको छ ।
चार दिन लगाएर सडक डिभिजन कार्यालय इलामले यो बाटो खुलाएको हो । पहिरोले चुँडाएको सडकमा ‘ग्याबिङ’ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाइएको थियो ।
राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारीसाधन माईखोला वारी र पारीबीच बाटोमै रोकिएका थिए । माईखोला पारिका सवारीसाधनले माईखोलासम्म यात्रु ल्याउने र वारिका सवारीसाधनले पारिसम्म यात्रु लैजाने गर्दै आएका थिए ।
कान्ति लोकपथ
मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सञ्चालनमा आएका छन् ।
असोज १२ गतेको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै खुले पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो ।
द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा चारवटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन् । बागमती पुल मकवानपुर-ललितपुरको यातायात सम्पर्क टुटेको थियो ।
बीपी राजमार्ग एकतर्फी
रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी गत हप्तादेखि नै आवागमन खुलाइएको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेबेसीको चौकीडाँडासम्म एकतर्फी चलिरहेको छ भने बढ्दो चापले यात्रु सकसमा छन् ।
अरनिको राजमार्ग
बाढीले क्षति पुर्याएको अरनिको राजमार्गमा पुन: सुख्खा पहिरोका कारण अवरुद्ध भएको थियो। तर गत २७ गते नै एकतर्फी सञ्चालन भएको थियो । पाँचखाल नगरपालिका- ८ स्थित ५० किलोमा राजमार्ग अहिले दुईतर्फी सञ्चालनमा आइसकेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग
बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली खण्ड पनि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।



