काठमाडौं । दशैं पछिको यो साता सुनको मुल्यले एक पछि अर्को नयाँ रेकर्ड कायम गरेको छ । विगत केही समय देखि उचाईतर्फ लागेको मुल्यले गत बुधबार, बिहिबार र पछिल्लो कारोकार भएको दिन शुक्रबार तीनै दिन एक पछि अर्को गर्दै नयाँ उचाई कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पु¥याएको बिश्लेषकहरुको भनाई छ ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यले रेकर्ड कायम गर्यो । साताको पहिलो र दोस्रो दिन दशैं विदा परेकोले यी दुई दिन कारोवार भएन । साताको तेस्रो दिन मंगलबार प्रति तोला १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको सुनको मुल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति तोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुग्यो । यस्तै विहिबार पनि नयाँ रेकर्ड राख्दै प्रति तोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो । यस्तै शुक्रबार पनि पुनः नयाँ रेकर्ड राख्दै प्रति तोला सुनको मुल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो । यो मुल्य साताको पहिलो कारोबार भएको दिन मंगलबारको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति तोला ३ हजार ९ सय रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढ्यो । साताको पहिलो दिन मंगलबार प्रति तोला १ हजार ९ सय २५ रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति तोला १ हजार ९ सय ८० रुपैयाँ कायम भयो ।



