काठमाडौं । दशैंपछिको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३१ अंकले बढेको छ । दशैंअघिको अन्तिम कारोबार दिन ४.८५ अंकले बढेको नेप्से आज थप ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा पुगेको हो ।
मंगलबार कारोबारमा आएका २४३ कम्पनीमध्ये १९५ वटाको शेयरमूल्य बढेको छ । ४३ कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङबाहेक सबै उपसमूहको सूचक बढेका छन् ।
आज कारोबारमा आएका कम्पनीहरुमध्ये २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा जानकी फाइनान्स र मिथिला लघुवित्त रहेका छन् । मिड सोलु हाइड्रोपावरको शशेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
आज ६३ लाख ४४ हजार कित्ता शेयर ३ अर्ब १ करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सको भएको छ ।



