काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । टिका लगाएर दक्षिणा दिँदा यदि तपाइको हातमा लागेको रंगले नयाँ नोट मैलियो भने तपाइँ कारवाहीमा पनि पर्न सक्नुहुन्छ ।
कतिपयलाई नोटमा रङ्ग लग्दा के कारवाही हुन्छ थाहा नहुन सक्छ । पुजा गर्दा, दक्षिणा दिँदा तथा अन्य धार्मिक कार्यहरुमा पनि नोटको प्रयोग गर्ने गरिन्छ । तर यस्तो गर्दा नोटमा रङ्ग लाग्यो भने कारवाहीमा पर्न सकिन्छ ।
मुलुकी अपराध ऐन २०७४ को परिच्छेद २२ मा रहेको मुद्रा सम्बन्धी कसूर अन्तर गतको दफा २६३ को उपदफा २ मा कसैले बैंक नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ । सोही दफाको उपदफा ३ मा उपदफा २ बमोजिम कसुर गर्ने गराउने व्यक्ति ३ महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरीवाना हुने व्यवस्था गरेको छ ।

यसले गर्दा नोटमा केरमेट गर्दा, मैलाउदा तथा रङ्ग लगाउदा समेत सोहि ऐन बमोजिम सजाय हुन सक्छ । यसको मतलब नोटमा रङ्ग लगाउदा ३ महिनासम्म जेल बस्नु पर्ने हुनसक्छ ।
नेपाल राष्ट्र बैंकले दशैंको समयमा नयाँ नोटमा रंग नलगाउन, केरमेट नगर्न र आकार नविगार्न सर्वसाधारणलाई आग्रह समेत गर्दै आएको छ ।
नोटमा लेख्दा तथा रङ्ग लगाउदा नोटको आयु घट्छ । यस्ता नोट चाँडै नै काम नलाग्ने हुन्छन र तीनीहरुलाई नष्ट गर्नुपर्ने हुन्छ ।
राष्ट्र बैंकले नयाँ नोट साट्न करोडौ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । केन्द्रिय बैंकले नयाँ नोट छाप्नको लागि करोडौ रुपैयाँमा ठेक्का दिने गरेको छ । यसरी नोटको आयु घट्दा यसले सरकारको खर्च समेत बढाउछ ।
विगत लामो समयदेखि दशैमा टिका लगाएर नयाँ नोट दक्षिणा दिने चलन चल्दै आएको छ । केन्द्रिय बेंकले पनि सोहि अनुसार दशैअघि अरबौको नयाँ नोट बजारमा पठाउने गर्छ । केन्द्रिय बैंकले मुख्य गरी यस समय ५, १०, २०, ५० र १०० दरका नोट सटहि गर्ने गर्छ ।
तर, यसपटक भने सरकारले पुराना सुकिला नोट नै सटही गरेको छ । केन्द्रिय बैंकले वाणिज्य बैंक र राष्ट्र बैंकको शाखामार्फत सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराएको थियो । एकजनाले एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साट्न सक्ने व्यवस्था थियो । ती नोट पनि एक सातामै ९४ करोड रुपैयाँ बराबर रकम साटिएका छन् ।



