काठमाडौं । पर्यटन राजधानी पोखरामा मनसुनका कारण रोकिएको 'हट एयर बेलुन' उडान सुरु भएको छ । लेकसाइडभन्दा माथि पामेबाट उडान सुरु भएको हो ।
बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले मनसुनका कारण राकिएको उडान यसै साता फेरि सुरु भएको जानकारी दिए । बिहान र बेलुका गरी दुई सिफ्टमा बेलुन उडाउने गरिएको छ । “बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान हुन्छ,” अध्यक्ष बाडेले भने ।
कति लाग्छ शुल्क ?
हट एअर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ११ हजार रुपैयाँ शुल्क लाग्नेछ । यस्तै सार्क मुलुकका पर्यटकका लागि १२० डलर र अन्य मुलुककालाई १५० डलर शुल्क कायम छ । उक्त शुल्क तिरेपछि उडानसँगै ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुइतर्फी यातायात सुविधा, फोटो-भिडियो र प्रमाणपत्र समेत पाइन्छ । पर्यटकले बलुन रिजर्भ गरी प्राइभेट उडान गर्न चाहे सो सुविधा समेत रहेको छ ।
साहसिक पर्यटकले मन पराउने बेलुन नौ हजार फिटमाथिसम्म पुग्छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमाल, फेवातालसहित पोखरा र आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।
कम्पनीसँग अहिले दुई वटा बेलुन छन् । स्पेनका क्लेटो र बेलायतका हार्भे एलेक्जेन्डरले पाइलटका रुपमा काम गरिरहेका छन् । बेलुन नेपालले यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्दै छ ।



