काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०।०८१ मा आयोगमा २६ हजार ९१८ उजुरी परेका छन् । आइतवार शीतलनिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त जानकारी दिएका हुन् ।
उनले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरी समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए । उनले यो अवधिमा कुल ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्छ्याैट भएको बताए ।
उनले फर्छ्याैट गरेका उजुरीमध्ये आयोगको क्षेत्राधिकारभित्र नपरेका गोलमटोल प्रकृतिका भइरहने वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाणबिनाका सामान्य प्रकृतिका १३ हजार ५९३ वटा उजुरी तामेली गरिएको बताए । उनले फर्स्यौट भएकामध्ये १ हजार १३३ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, १३१ उजुरीउपर सुझाव दिइ तामेली गरिएको र १२ हजार ७८६ उजुरी उपर कानून बमोजिम अन्य आवश्यक कारबाही गरिएको जानकारी दिए ।
उनले प्रारम्भिक छानबिनका क्रममा रही फर्स्यौट हुन बाँकी ८ हजार ४७२ उजुरी आर्थिक वर्ष २०८१।०८२ मा सरेको बताए ।



