काठमाडौं । निर्माण क्षेत्रमा प्रवाह भएको तर तीन महिना भन्दा बढी साँवा ब्याज रोकिएर खराब कर्जामा रुपान्तरण भएका कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले केही समय थमौती दिने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्माण क्षेत्रमा गएको कर्जाको किस्ता भुक्तानी ९० दिन भन्दाबढी रोकिएको अवस्थामा पनि भाखा नाघेको अवधिको आधारमा वर्गीकरण गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुले सर्कुलर जारी गरेको हो ।
यसअघि यस्तो ऋणीलाई कालोसूचीमा राख्ने व्यवस्था थियो । राष्ट्र बैंकले सूचना जारी गर्दै निर्माण क्षेत्रमा गएको कर्जाको किस्ता भुक्तानी ९० दिनभन्दा बढी रोकिएको अवस्थामा पनि भाखा नाघेको अवधिको आधारमा वर्गीकरण गरी सोहीबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ ।
निर्माण व्यवसायमा आएको शिथिलतालाई मध्यनजर गर्दै तत्काल कालोसूचीमा राख्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । तर, यस्तो सुविधा निर्माण व्यवसायीहरुले २०८१ पुस मसान्तसम्म मात्र पाउने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।



