काठमाडौं । चालू आर्थिक वर्षमा मधेश प्रदेशले ल्याएको बजेटको ५५ प्रतिशत मात्रै कार्यान्वयन भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेअनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशले कुल विनियोजित बजेटको ५५.७५ प्रतिशत मात्रै खर्चिएको हो ।
मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन कुल बजेटको ५५.७५ प्रतिशत हो ।
चालू आर्थिक वर्षमा मधेशले चालू खर्चका लागि छुट्याइएको बजेटको आधा पनि कार्यान्वयनमा ल्याउन सकेन । मधेशले चालु खर्चका लागि १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेको थियो । त्यसमध्ये, ९ अर्ब २९ करोड ७० लाख रुपैयाा खर्च भएको थियो । उक्त खर्च भएको रकम चालू खर्चका लागि विनियोजन भएको बजेटको ४९.८७ प्रतिशत मात्रै हो ।
त्यस्तै, मधेशले पुँजीगत खर्चका लागि छुट्याएको बजेटको ४०.१८ प्रतिशत मात्रै कार्यान्वयन गरेको छ । चालू आर्थिक वर्षमा प्रदेशले पुँजीगत खर्चका लागि २५ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये, १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ ।




