काठमाडौं । आर्थिक वर्ष २०८०/८१ साढे ११ महिना बितिसक्दा सरकारले ७०.९७ प्रतिशत मात्रै बजेट खर्चिएको छ । चालू आर्थिक वर्षको असार १६ गतेसम्ममा सरकारले १२ खर्ब ४२ अर्ब रुपैयाँ मात्र खर्च गरेको हो ।
सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । असारको मध्यसम्ममा विनियोजित कुल बजेटमध्ये १२ खर्ब ४२ अर्ब रुपैयाँ मात्र खर्च गरेको छ । अब आधा महिनाको समयमा सरकारसँग खर्च गर्नका लागि ५ खर्ब ८ अर्ब रुपैयाँ बजेट बाँकी नै रहेको छ ।
कुल बजेटमध्ये ११ खर्ब ४१ अर्ब रुपैयाँ चालू खर्चको लागि विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्ममा ८ खर्ब ६९ अर्ब रुपैयाँ खर्च भएको छ । जुन सो शिर्षकका छुट्याइएको बजेटको ७६.१९ प्रतिशत हो ।
चालू खर्चका लागि छुट्याइएको बजेटको कार्यान्वयन दुई तिहाई भन्दा बढी भएको भएतापनि पुँजीगत खर्च भने आधा पनि पुगेको छैन । सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये हालसम्म १ अर्ब ४५ अर्ब मात्रै खर्च भएको छ । उक्त खर्च भएको रकम पुँजीगत खर्चका लागि विनियोजन गरिएको कुल बजेटको ४८.१३ प्रतिशत मात्रै हो ।
विगतका आर्थिक वर्षहरुमा असार लागेपछि पुँजीगत खर्च बढ्ने प्रवृत्ति देखिएको थियो । तर यसपटक भने त्यस्तो प्रवृत्ति तुलनात्मक रुपमा कम नै देखिएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ खर्ब ३४ अर्ब (४४.६८ प्रतिशत) पुँजीगत बजेट खर्च भएको थियो । जुन असार १५ गतेसम्ममा १ खर्ब ४५ अर्ब (४८.१३ प्रतिशत) मात्रै पुगेको छ । अब बजेटको पूर्ण कार्यान्वयनका लागि सरकारलाई आधा महिनाको समयमा पुँजीगत खर्चका लागि छुट्याइएको बजेटको १ खर्ब ५७ अर्ब रुपैयाा खर्चिनुपर्ने बाध्यता छ ।



