काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यसपटक घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो ११ महिनाको तुलनामा यसपटक कारोबार १७.२५ प्रतिशतले बढेको हो । कारोबारमा सुधार आएसँगै राजस्व संकलनमा पनि झिनो वृद्धि भएको छ ।
गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ४ लाख १८ हजार ८३७ लिखत पारित भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा ४ लाख ९१ हजार ११८ लिखत पारित भएका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १७.२५ प्रतिशतले बढी हो ।

लिखत पारितको संख्यामा वृद्धि भएतापनि जग्गा कारोबारवापत संकलन हुने राजस्वमा भने झिनो वृद्धि मात्रै देखिएको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा घरजग्गा कारोबारवापत ३६ अर्ब ८८ करोड ३१ लाख रुपैयाँबराबर रकम राजस्व संकलन भएको थियो । सो शिर्षकको राजस्वमा यसपटक १.४४ प्रतिशतले बढेर ३७ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ पुगेको हो ।



