काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० को तुलनामा यस जेठ महिनामा ११.०६ प्रतिशतले घरजग्गाको कारोबार बढेको हो ।
गत जेठमा देशभर ५५ हजार ६९ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक बढेर ६१ हजार १६१ पुगेको विभागको तथ्यांकमा जनाइएको छ । चालु आर्थिक वर्षको फागुनमा ५० हजार ९९८ वटा, चैतमा ४९ हजार १५० वटा र वैशाखमा देशभर ४२ हजार ४६१ वटा लिखतपारित भएका थिए ।
चालू आर्थक वर्षका विगतका महिनाहरुमा घरजग्गा काराेबार बढ्दै गर्दा पनि राजस्व संकलन भने घटेकाे थियाे । तर वैशाखदेखि भने काराेबार साथै राजस्व संकलन पनि बढेकाे छ । गत जेठकाे तुलनामा जग्गाको कारोबारबापत संकलन हुने राजस्व १५.५२ प्रतिशतले बढेकाे छ । गत वर्षको जेठमा ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यसपटक बढेर ४ अर्ब ३३ कराेड ९२ लाख रुपैयाँ पुगेकाे छ । गत वैशाखमा ३ अर्ब १० कराेड रुपैयाँ राजस्व संकलन भएकोमा यसपटक बढेर ३ अर्ब ८६ कराेड रूपैयाँ पुगेकाे थियाे ।
चालु आर्थिक वर्षको जेठ महिनामा सबैभन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालयबाट २३७६ वटा लिखत पारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामबाट २३४८ लिखत पारित भएको छ । त्यस्तै, भद्रपुर, मोरङ, राजविराज, मलंगवा, पर्सा र सिराहाबाट पनि एक हजार भन्दा धेरै कारोबार भएका छन् । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, पर्सा, जलेश्वर, कलैया, सिराहा, तौलिहवा, विराटनगर, भक्तपुर, लाहान, रुपन्देही, नेपालगञ्ज, लगनखेल, तुलसीपुर, दमक र काभ्रेपलान्चोकबाट पनि एक हजार भन्दा धेरै कारोबार भएका छन् ।
चालु आर्थिक वर्षकाे १० महिनाकाे लिखतपारितकाे अवस्था




