काठमाडौं । आगामि आर्थिक वर्षको वजेट प्रतिनिधि सभाबाट असार ७ गते पारित गर्ने तयारी शुरु गरिएको छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिए लगत्तै मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ ।
संसद सचिवालयका अनुसार, मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । आज छलफल हुने मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि, कृषि तथा पशुपंक्षी विकास, युवा तथा खेलकुद र श्रम रोजगार तथा सामाजिक सुरक्षा रहेका छन् ।
सचिवालयका अनुसार, असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल जारी रहने र सोही दिन बजेट पारित गरिने छ ।



