काठमाडौं । गत आर्थिक वर्षको वैशाखको तुलनामा यसपटक काठमाडौं महानगरपालिकाको आन्तरिक राजस्व संकलनमा वृद्धि भएको छ । महानगरले सार्वजनिक गरेको आम्दानी विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को वैशाख महिनाको तुलनामा यस वैशाखमा ७.१८ प्रतिशत बढी आन्तरिक राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्षको वैशाख महिनामा महानगरले ३३ करोड ६३ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो । उक्त शिर्षक अन्तर्गतको आम्दानी यसपटक ७.१८ प्रतिशतले बढेर ३६ करोड ५ लाख रुपैयाँ पुगेको हो ।
आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा महानगरले ४ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा उक्त आम्दानी १.९५ प्रतिशतले बढी हो । महानगरले गत वैशाखसम्ममा उक्त शिर्षकमा ४ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेको थियो ।
सो अवधिमा बाँडफाँडबाट प्राप्त राजस्व पनि २०.०८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा उक्त शिर्षकमा १ अर्ब १४ करोड रुपैयाँ संकलन भएको थियो । जुन, यसपटक बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।
आन्तरिक अनुदानमार्फत् महानगरलाई १० महिनामा १ अर्ब ९६ करोड रुपैयाँ प्राप्त भएको छ । गत आर्थिक वर्षको तुलनामा उक्त रकम १८.७८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० को वैशाखसम्ममा महानगरले १ अर्ब ६५ करोड रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा आन्तरिक राजस्व, बाँडफाँड प्राप्त राजस्व र आन्तरिक अनुदान मार्फत् कुल ७ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको छ । महानगरको आम्दानी गत आर्थिक वर्षको १० महिनाको तुलनामा ८.७२ प्रतिशतले बढी हो । गत वर्षको साही अवधिमा महानगरले ७ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।



