काठमाडौं । चालु आर्थिक वर्षमा कोशी प्रदेशको बजेट कार्यान्वयन सुस्त देखिएको छ । आर्थिक वर्ष सकिन २ महिनामात्रै समय बाँकी रहँदा प्रदेशले ल्याएको समग्र बजेटको आधा पनि खर्चिन असक्षम देखिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को वैशाख २९ गते सम्ममा कोशी प्रदेश सरकारले ४२.२८ प्रतिशत बजेट खर्च गरेको छ । ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको कोशीले वैशाख २९ गते सम्ममा १५ अर्ब ५६ करोड ९५ लाख ४२ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।
कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि चालू खर्चभन्दा पुँजीगत खर्चका लागि बढी बजेट विनियोजन गरेको थियो । समग्र बजेटको कार्यान्वयन ४२.२८ प्रतिशत मात्रै रहँदा विकास खर्चको अवस्था भने झनै नाजुक रहेको छ । चालु आर्थिक वर्षको १० महिना सकिँदा सम्म प्रदेश ३६.६० प्रतिशत मात्रै पुँजीगत खर्चका लागि छुट्याइएको बजेट खर्चिन सक्षम भएको छ । विकास निर्माणका लागि प्रदेशले विनियोजन गरेको २० अर्ब ४१ करोडमध्ये हालसम्म ७ अर्ब २६ करोड रुपैयाँ मात्र खर्च भएको छ ।
चालु बजेट खर्चको अनुपात पुँजीगतको तुलनामा केही बढी छ । कोशी सरकारले वैशाख २९ गते सम्ममा ८ अर्ब ३० करोड रुपैयाँ चालु खर्च गरेको छ । प्रदेशले गरेको उक्त खर्च सो कार्यका लागि विनियोजन गरिएको बजेटको ५०.६३ प्रतिशत हो । कोशी प्रदेशले १६ अर्ब ३९ करोड रुपैयाँ चालु खर्चका लागि विनियोजन गरेको थियो ।
सो समयसम्ममा कोशी प्रदेश सरकारले २३ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।




