काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा विनियोजित बजेटको ६०.०८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा बजेटको दुई तीहाईभन्दा कम बजेट खर्च भएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैत ३० गतेसम्ममा १० खर्ब ३७ अर्ब २९ करोड ८८ लाख रुपैयाँ बजेट खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
१० महिनाको कुल खर्चमध्ये चालुतर्फ ७ खर्ब ४५ अर्ब, पुँजीगत तर्फ १ खर्ब ९ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८२ अर्ब बजेट खर्च भएको छ । यो वार्षिक बजेटको तुलनामा क्रमशः ६५.६६ प्रतिशत, ३६.४ प्रतिशत र ६२.६ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ४१ अर्ब, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब र वित्तिय व्यवस्था तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सो अवधिमा ८ खर्ब २० अर्ब रुपैयाँ राजस्वमार्फत् उठेको छ जुन लक्ष्यको ५७.९३ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो ।



