images
images

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण


  • 363
    SHARES
  • २०८१ बैशाख १९ गते बुधबार

    मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

    काठमाडाैं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज वार्षिक राष्ट्रिय तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिको प्रक्षेपणबारे जानकारी गराएको हो ।

    चालु आवमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ । आव २०७८/७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहेको अन्तिम विवरण सार्वजनिक गरिएको छ ।

    चालु आवमा कृषि क्षेत्रको तीन दशमलव शून्य पाँच प्रतिशत र गैरकृषि क्षेत्रको तीन दशमलव ७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित विवरणअनुसार गत आव २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव ७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर दुई दशमलव १३ प्रतिशत रहने अनुमान गरिएको छ ।

    त्यसैगरी, अन्तिम विवरणअनुसार आव २०७८/७९ मा कृषि क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर छ दशमलव ५४ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ ।

    समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र  र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गरिएको कार्यालयले जनाएको छ । चालु आवमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव शून्य तीन प्रतिशत, एक दशमलव २० प्रतिशत र चार दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    संशोधित विवरणअनुसार गत आव २०७९/८० मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमश : २.७२ प्रतिशत, १.४० प्रतिशत र २.३६ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसैगरी, अन्तिम विवरणअनुसार आव २०७८/७९ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः दुई दशमलव ५० प्रतिशत, १०.७९ प्रतिशत र ५.३२ प्रतिशत कायम हुने तथ्यांक सार्वजनिक गरिएको छ ।

    खानी तथा उत्खनन् क्षेत्रको चालु आवको कूल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ३१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा सामान्य गिरावट भएता पनि खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी सङ्कलनमा गत आवको तुलनामा उल्लेख्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर चालु आवमा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार हुने अनुमान गरिएको हो ।

    गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर शून्य दशमलव ९८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ८.८४ प्रतिशत कायम गरिएको छ ।

    चालु आवमा उद्योग क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो । साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकूलताले विश्वव्यापी रूपमा अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो ।

    चालु आवमा आवास तथा भोजन सेवाको कूल मूल्य अभिवृद्धि वृद्धिदर २१ दशमलव ८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।    विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आवमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो ।

    गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १८ दशमलव शून्य तीन प्रतिशत रहने संशोधित अनुमान छ । आव २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १२ दशमलव ५६ प्रतिशत कायम गरिएको छ । सूचना तथा सञ्चारतर्फ चालु आवमा कूल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कूल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ । घरजग्गा कारोबारको सेवा चालु आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    घर जग्गाको कारोबार तुलनात्मक रूपमा कमी भएता पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कूल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।

    गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर दुई दशमलव १८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर एक दशमलव ७२ प्रतिशत कायम गरिएको छ ।


    images
    images

    Logo