काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार नेपालबाट चैतसम्ममा ७ अर्ब ८१ करोड ६९ लाख रुपैयाँ बराबरको रकममा ३ लाख १३ हजार वर्ग मिटर गलैंचा निर्यात भएको हो ।
चैतसम्मको तथ्यांक हेर्दा नेपालबाट निर्यात हुने वस्तुहरुमध्ये गलैंचाको शिर्ष स्थानमा रहेको छ । भन्सार विभागको फागुनसम्मको र चैतसम्मको तथ्यांकको तुलना गर्दा चैत महिनामा मात्रै नेपालबाट ८४ करोड ८४ लाख रुपैयाँ बराबरको गलैंचा बाहिरिएको छ । फागुनसम्ममा नेपालबाट ६ अर्ब ९२ करोड रुपैयाँको गलैंचा निर्यात भएको थियो । ज्न यसपटक बढेर ७ अर्ब ८१ करोड पुगेको हो ।
सो परिणाममा गलैंचा निर्यात हुँदै गर्दा नेपालमा ४३ लाख रुपैयाँ बराबरको गलैंचा आयात समेत भएको छ । चैतसम्मको अवधिमा नेपालमा ४३ लाख ३० हजार रुपैयाँ बराबरको रकममा ८ हजार ४६३ वर्ग मिटर गलैंचा आयात भएको हो ।
नेपालमा उत्पादन गरिएको गलैंचा मुख्यतः बेल्जियम, अष्ट्रेलिया, क्यानडा, चीन, अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, स्वीजरल्याण्ड लगायतका देशहरुमा निर्यात हुने गरेका छन् ।



