काठमाडौं । नेपालको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब पुगेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत महिनासम्ममा नेपालले भुक्तानी गर्न बाँकी रहेको ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।
भुक्तानी गर्न बाँकी रहेकोमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण रहेको कार्यालयको तथ्यांकमा जनाइएको छ । सो अवधिमा नेपालले एक खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ तिरेको छ । जसमध्ये आन्तरिक ऋणको सावाँब्याज १ खर्ब २५ अर्ब रुपैयाँ र बाह्य ऋणको सावाँब्याज २६ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा सरकारले थप दुई खर्ब ३८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ थप ऋण लिएको छ । त्यसमध्ये १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक ऋण र ६२ अर्ब ९३ करोड रुपैयाँ बाह्य ऋण रहेको तथ्यांकमा छ ।



