काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गाको कारोबार एक चौथाइले बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनीक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–८० को फागुनको तुलनामा चालु वर्षको फागुनमा कारोबार २५.१९ प्रतिशतले बढेको हो ।
गत फागुनमा देशभर ४० हजार ७३४ कित्ता जग्गा लिखत पारित भएको थियो जुन यस वर्ष बढेर ५० हजार ९९८ को संख्यामा पुगेको छ । चालु वर्षको माघको तुलनामा भने जग्गाको कारोबार स्थिर रहेको तथ्यांकमा देखिन्छ । गत महिनामा ५० हजार ९२१ वटा कारोबार भएका थिए ।
जग्गाको कारोबार बढेपनि कारोबारबापत राज्यलाई प्राप्त हुने राजस्व भने स्थिर जस्तो नै रहेको छ । गत वर्षको सोही महिनामा उक्त क्षेत्रबाट ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन यस माघमा झिनो रुपमा बढेर ३ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको माघ महिनामा सर्वाधिक लिखत पारित भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । उक्त कार्यालयबाट २००६ वटा कारोबार भएका छन् । जनकपुरधाम र भद्रपुर कार्यालयबाट क्रमशः १९९७ र १८५० कारोबार भएका छन् ।
त्यस्तै, मालपोत कार्यालय बेलवारी, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, जलेश्वर, मलंगवा, सिराहा, तौलिहवाबाट पनि हजार भन्दा धेरै कारोबार फागुन महिनामा भएका छन् ।



