images
images

लोमान्थाङ चक्रपथ आयोजनाको दश किलोमिटर स्तरोन्नति


  • 369
    SHARES
  • २०८० माघ २८ गते आइतबार

    लोमान्थाङ चक्रपथ आयोजनाको दश किलोमिटर स्तरोन्नति

    म्याग्दी । मुस्ताङको लोमान्थाङ चक्रपथ स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ चक्रपथको १०.५ किलोमिटर स्तरोन्नति भएको हो । 

    लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने यो सडक बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक हो । 

    गाउँपालिकाको केन्द्र लोमान्थाङदेखि ढिङ्गर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरी स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । 

    “पन्चानब्बे प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको यो सडकको ठेक्का टुङ्ग्याउने तयारी गरेका छौँ”, उनले भने, “प्राविधिक टोलीले नापजाँच सकेको छ । काम सकेको जानकारी गराएको निर्माण व्यवसायीले भुक्तानी मागेको भने छैन ।” 

    इमाडोल कन्ट्रक्सनले २०७६ साल साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना २०७७ साल फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको ९७ लाख रुपैयाँ फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् । यो सडक निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए। 

    सार्वजनिक खरिद ऐनको संशोधन भएपछि अन्तिम भुक्तानीका लागि विल पेश गर्ने उनले बताए । २१ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडकको भेरियसन अर्डर गर्ने क्रममा लागत बढेर २४ करोड रुपैयाँ पुगेको छ । हालसम्म १८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै ८ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सडक इञ्जिनियर दिलीप उप्रेतिले बताए । 

    राष्ट्रिय राजमार्गको विकल्पका साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए । स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरला नाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ । 

    लोमान्थाङदेखि पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने ३.५ किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । गतवर्ष गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा यो सडकको मार्ग खोलेको थियो । यसैगरी न्यानो-सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को ६.५ किलोमिटर सडक स्तरोन्नतिको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।


    images
    images

    Logo