images
images

ट्याक खुलेको २४ वर्षपछि  रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति हुँदै


  • 371
    SHARES
  • २०८० माघ २२ गते सोमबार

    ट्याक खुलेको २४ वर्षपछि  रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति हुँदै

    गलेश्वर । ट्याक (मार्ग) खुलेको २४ वर्षपछि म्याग्दीकोे रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको छ । 

    २०५६ सालमा ट्याक खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो ।

    सडक निर्माणका लागि २०७९साल भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाख रुपैयाँमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । 

    विगत १६ महिना (२०७९ भदौदेखि २०८० पुससम्म) सडक चक्लाउने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भएका र अबको बाँकी समय कालोपत्रको काम गरिने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईंले जानकारी दिए । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने उनले जानकारी दिए । 

    घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भैरहेको सेढाईंले बताए । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या थियो । 

    सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक/एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न ४०÷४० करोड रुपैयाँ विनियोजन गरेको थियो । 

    म्याग्दीका निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर–भकुण्डे–भकिम्ली–बरङ्जा सडक आयोजनालाई सिफारिस गरेको जानकारी दिए । 

    भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ । पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ । यसअघि सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।

    बेनी नगरपालिका–१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नं २ को ज्यामरुककोट, सानालेक, तोराखेत हुँदै वडा नं ३ भकिम्ली जोड्ने सडक स्तरोन्नति हुने बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।


    images
    images

    Logo