images
images

मुग्लिन–पोखरा सडक : बीस किलोमिटर कालोपत्र


  • 431
    SHARES
  • २०८० माघ १८ गते बिहीबार

    मुग्लिन–पोखरा सडक : बीस किलोमिटर कालोपत्र

    तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्र सम्पन्न भएको हो । 

    पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमि दुरीमा कालोपत्रका लागि अन्तिम तयारी भइरहेको छ । 

    उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको इञ्जिनियर पाण्डेले बताए । पूर्वीखण्डका लागि  ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    यस खण्डको काम  २०७८ साल वैशाख २ गतेदेखि गरिएको हो । करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार २०८१ साल वैशाखसम्म सक्नेगरी सम्झौता भएको थियो । 

    पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा १ सय साठी भौतिक संरचनाका १५ करोड १३ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका रु छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका आयोजना कार्यालयले जनाएको छ । 

    पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ । 

    उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिका लागि २०७८ साल भदौदेखि काम सुरु भई २०८१ साल भदौ १२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

    पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यस सडक खण्डमा कालोपत्रका लागि पहिलो पटक परीक्षण कार्य सुरु गरिएको पौड्यालले बताए ।

     


    images
    images

    Logo