काठमाडौं । कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने पाँच वटा असजिला चट्टानी भिरमा सडकको स्तरोन्नति गर्ने कामको जिम्मा सडक विभागले नेपाली सेनालाई दिएको छ । चालु आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सडक विभागले ती चट्टानी भिरको काम नेपाली सेनाको जिम्मा लगाएको हो ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले आयोजनाको सिफारिसका आधारमा सडक विभागले कर्णाली कोरिडोरको हुम्ला खण्डका पाँच वटा चट्टानी भिरको सडकलाई स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनाको विकास निर्माण दललाई लगाउने काम भएको बताए ।
ती पाँच वटा भिरको कामको जिम्माका लागि विभागले नेपाली सेनालाई पत्राचारसमेत गरिसकेको छ । यसरी कर्णाली कोरिडोरको हुम्ला खण्डका अप्ठ्यारा चट्टानी भिरहरूमा दुल्ली कुना, बोक्चे गौँडा, भिगौँडा, च्याछरा र याल्वाङ गौँडा रहेका छन् ।



