images
images

राष्ट्रिय स्तरका ६ वटा विकास बैंकको नाफा घट्यो, बलिया भनेका बैंक नै संकटमा


  • 553
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    राष्ट्रिय स्तरका ६ वटा विकास बैंकको नाफा घट्यो, बलिया भनेका बैंक नै संकटमा

    काठमाडौं । राष्ट्रिय स्तरका ६ वटा विकास बैंकको नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस्तो अवस्था देखिएको हो । ८ वटा विकास बैंकहरुले यो अवधिमा २ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा १२.५८ प्रतिशतले कम हो । बैंकहरुले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५४ करोड रुपैयाँ नाफा गरेका थिए ।

    यो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा ज्योति विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् । बाकि गरिमा, मुक्तिनाथ, साइन रेसुङ्गा, महालक्ष्मी, सांग्रीला र लुम्बिनी विकास बैंकको नाफा घटेको छ । 

    विकास बैंकमध्ये सर्वाधिक नाफा गरेको गरिमा विकास बैंकको नाफा ६.१३ प्रतिशतले घटेको छ । अघिल्लो आवको ६ महिनामा ५१ करोड १० लाख रुपैयाँ नाफा गरेको गरिमाको नाफा घटेर यसपटक ४७ करोड ९६ हजार रुपैयाँमा झरेको छ । 

    त्यस्तै, यसअघि सर्वाधिक नाफा कमाउने बैंकको रुपमा रहेको मुक्तिनाथ विकास बैंकको नाफा यो अवधिमा करिब एक तिहाइले घटेको छ । अघिल्लो वर्षको पुस सम्म ६२ करोड ६२ लाख रुपैयाँ कमाएको मुक्तिनाथले यो वर्ष ४२ करोड रुपैयाँ मात्रै  नाफा कमाउन सकेको हो । 

    त्यस्तै, साइन रेसुङ्गा बैंकको नाफा पनि १३.६० प्रतिशतले घटेको छ । अघिल्लो पुससम्ममा ४२ करोड ८६ लाख रुपैयाँ नाफा गरेको उक्त बैंकले यस पटक ३७ करोड १२ लाख रुपैयाँ मात्र नाफा गरेको हो । 

    महालक्ष्मी विकास बैंकको पनि १२ प्रतिशतले नाफा घटेको छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्ममा ३१ करोड ६० लाख रुपैयाँ नाफा गरेको उक्त बैंकले यसपटक २७ करोड ८० लाख रुपैयाँ मात्र नाफा गरेको हो । 

    यो अवधिमा लुम्बिनी विकास बैंकको नाफा १८.६९ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पुससम्ममा सो बैंकले २१ करोड २२ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षमा २६ करोड १० लाख रुपैयाँ रहेको थियो । 

    साङ्ग्रिला विकाश बैंकको नाफा सर्वाधिक ३९.८२ प्रतिशतले घटेको छ । अघिल्लो पुससम्ममा १६ करोड ६५ लाख रुपैयाँ कमाएको बैंकको नाफा यसपटक घटेर १० करोड २ लाख रुपैयाँमा सिमित रहेको हो । 

    ६ वटा बैंकको नाफा घट्दा पनि कामना सेवा विकास बैंक र ज्योति विकास बैंकको नाफा भने बढेको छ । 

    कामना सेवा विकास बैंकको नाफा ३२.१८ प्रतिशतले बढेर २५ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पुससम्ममा उक्त बैंकले १९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो । 

    ज्योति विकास बैंकले सर्वाधिक १९०.६७ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्षको पुससम्ममा ३ करोड ४७ लाख रुपैयाँ कमाएको उक्त बैंकको नाफा यसपटक बढेर १० करोड १० लाख रुपैयाँ पुगेको हो ।

    कर्जाको सावाँ तथा व्याज अपेक्षित रुपमा उठ्न नसक्दा यो वर्ष बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा उच्च रुपमा बढेको छ । यसको प्रभावस्वरुप सम्भावित खराब कर्जाको लागि प्रोभिजन छुट्याउनु पर्दा बैंकहरुको नाफामा उच्च गिरावट आएको देखिन्छ ।


    images
    images

    Logo