काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १.५५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार पहिलो ६ महिनासम्मा बैंकले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद व्याज आम्दानी २ अर्ब ६३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८४ करोड खुद व्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५८ पैसा घटेर ३६ रुपैयाँ ६२ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा रहेको छ।



