images
images

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र


  • 410
    SHARES
  • २०८० माघ ६ गते शनिबार

    मुग्लिन–पोखरा  १९.५ किलोमिटर सडकखण्ड कालोपत्र

    दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो । 

    सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए । त्यसमध्ये ७.२ कलिोमिटर खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ ।

    उनले भने, “सबैगरी १९.५ किलोमिटर कालोपत्र भएको छ । कालोपत्रमध्ये ७.२ किलोमिटरमा दुईतर्फी कालोपत्र सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रको काम भइरहेको छ ।” त्यसपश्चात् बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । 

    यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि १ २१ करोड रुपैयाँ लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ ।

    इञ्जिनियर पाण्डेका अनुसार पुलका लागि २ सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । उनले दुई वटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिए । हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ । 

    मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किलोमिटर यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको म्याद २०८१ साल वैशाखसम्म रहेको छ । 

    २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । 

    पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई २०७८ साल भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद २०८१ साल भदौसम्म रहेको छ । 

    चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 


    images
    images

    Logo