काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा ३२.१८ प्रतिशत बढेको छ । बैंकले दोस्रो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गर्दै खुद नाफा बढेको जनाएको हो । गत वर्षको साेही अवधिमा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । जुन यसपटक बढेर २५ करोड ८९ लाख रुपैयाँ पुगेको हाे ।
त्यस्तै, पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । ब्याज आम्दानी ६.२३ प्रतिशतले घटी ९५ करोड ८८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १ अर्ब २ करोड २६ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको नेट फि एन्ड कमिसन आम्दानी १२ करोड ३२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब १६ करोड रुपैयाँ, सञ्चालन नाफा ३७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १०.६४ प्रतिशत अर्थात् १७ करोड ४५ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ, जगेडा कोष १ अर्ब ५१ करोड रुपैयाँ, निक्षेप संकलन ६१ प्रतिशत बढेर ५६ अर्ब २० करोड ६४ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (इपिएस) ३.३१ रुपैयाँ बढेर १५.७८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५१.६१ रुपैयाँ छ ।
त्यसैगरी, बैंकको खराब कर्जा दर पनि घटेको देखिएको छ । गत वर्ष ३.७० प्रतिशत खराब कर्जा रहेकामा पुससम्म आइपुग्दा घटेर खराब कर्जा ३.४२ प्रतिशतमा झरेको छ । यस्तै, आधार दर ११ प्रतिशत, कर्जा निक्षेप (सीडी) रेसियो ८०.४१ प्रतिशत रहेको बैँकले जनाएको छ ।



