काठमाडौं । तोकिएको समयमा काम पुरा नगरेको भन्दै सरकारले ५ वठा ठेकेदार कम्पनीसँग स्पष्टीकरण मागेको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन भक्तपुरले विभिन्न ठाउँका सडक अलपत्र पार्ने ५ वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको हो ।
ललितपुरको ग्वार्कोदेखि लाकुरी भन्ज्याङ हुँदै काभ्रेको पनौती (दाहालटार) सडक स्तरोन्नतिको ठेक्का अलपत्र पारेको भन्दै लामा कन्सट्रक्सन तथा सप्लायर्स प्रालिलाई स्पष्टीकरण सोधिएको छ ।
यस्तै, च्यामासिंह, नाला र बनेपा क्षेत्रको सडकमा आवधिक मर्मत तथा सम्भारको कार्य अलपत्र पार्ने एनएस बिल्डर्स सुर्खेत र भक्तपुरको सल्लाघारीदेखि दरबार स्क्वायरसम्मको सडक मर्मत अलपत्र पार्ने गौतम कन्सट्रक्सन सिन्धुपाल्चोकलाई पनि स्पष्टीकरण सोधिएको छ ।
अरनिको राजमार्गअन्तर्गत चाल्नेडुङ्गा–खावा–लामिडाँडा–दोलालघाट सडक स्तरोन्नतिको काम अलपत्र पार्ने ओम निलकण्ठेश्वर कन्सट्रक्सन प्रालि काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ । काभ्रेको त्रिवेणीघाटको बांखु खोलामा पुल निर्माणको काम अलपत्र पार्ने विनय/कान्तिपथ जेभी ललितपुरलाई पनि स्पष्टीकरण सोधिएको छ ।
निर्माण कार्य अलपत्र पारेकोमा ठेक्का सम्झौता किन नतोड्ने भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो । सडक डिभिजन भक्तपुरले निर्माण कम्पनीहरुलाई लिखित स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित हुन भनेको छ ।




