काठमाडौं । विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माण गर्न आधा खर्ब बढी लाग्ने भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार लगानी बोर्डलाई बुझाएको नयाँ (अपडेटेड) विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार करिब ८१ किलोमिटरको उक्त केबलकार परियोजनाको कुल लागत ५५ अर्ब १८ करोड रुपैयाँ रहेको हो ।
परियोजनाका अध्यक्ष अरुणकुमार सुवेदीले बुधवार लगानी बोर्डका प्रतिनिधिलाई उक्त दस्तावेज हस्तान्तरण गरेका हुन् ।
केबलकार निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनुमति प्राप्त भएको थियो । तर डीपीआर र ईआईएका लागि कानूनी समस्या भएकाले प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कानूनी जटिलता र कार्यविधिको अभावमा वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा ईआईएको प्रक्रिया रोकिएको थियो ।
परियोजनाका अध्यक्ष सुवेदीले यसअघि नै पेश गरिएका दस्तावेजहरू कानूनी जटिलताका कारण पास हुन नसकेपछि लगानी बोर्डमा पुनः दुवै दस्तावेज पेश गरिएको जानकारी दिए ।
विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ ।
भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनका लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताए ।
उनले ईपीसीएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताए ।



