images
images

३ करोड लागतमा निर्माणाधीन गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा


  • 433
    SHARES
  • २०८० पौष १२ गते बिहीबार

    ३ करोड लागतमा निर्माणाधीन गुफा पोखरी लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा

    भोजपुर । पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । करिब ३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको हो । 

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनाको काम आर्थिक वर्ष २०७७÷७८ बाट निर्माण  थालिएको हो । योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । पर्यटकीय क्षेत्र  गुफा पोखरी, सुके पोखरी र जोर पोखरीका स्थानीयलाई लक्षित गरेर आयोजना निर्माण भइरहेको कार्यालय प्रमुख सिंहको भनाइ छ । यो क्षेत्रमा पानीको अति नै समस्या रहेकाले कार्यालयले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उनको भनाइ छ । 

    “यो योजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाएका छौँ”, प्रमुख सिंहले भने, “पर्यटकीय क्षेत्र रहेकाले यहाँ पानीको अति नै समस्या रहेको छ । विगतमा सोचेअनुसारको प्रगति नदेखिए पनि अब भने योजना अन्तिम चरणमा पुगेको छ । कामलाई यही वर्षमा सम्पन्न गराएर स्थानीयलाई पानी वितरण गर्ने लक्ष्य छ । हाल ८० प्रतिशत काम सम्पन्न भएको छ ।”

    आयोजनाको मुहानबाट सात सय मिटर मुख्य पाइपलाई विस्तार, विद्युत् जडान र मुख्य ट्याङ्की निर्माणलगायतको काम सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश आर्चायले बताए। तत्काललाई यहाँका पर्यटकीय क्षेत्रका करिब ६५ घरपरिवारले पानी उपभोग गर्न पाउने भए पनि यो आयोजनाबाट १ सय ५० बढी परिवारलाई पानी खुवाउने लक्ष्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।

    “गुफा पोखरी पर्यटकीय क्षेत्र हो”, अध्यक्ष आचार्यले भने, “यहाँ सिजनमा हजारौँ पर्यटकको आवागमन हुन्छ । पानीको समस्याको कारण यहाँ बस्ती विस्तार हुन सकेको थिएन । यो आयोजनाले यहाँको पर्यटनको विकासमा समेत टेवा पुग्नेछ । योजनालाई अवको एक महिनाभित्र सुचारु गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

    धेरै उचाइमा रहेको तथा भौगोलिकरुपमा धेरै कठिनाई रहेको अवस्थामा योजना सञ्चालनका लागि कार्यालयले खेलेको भूमिका प्रशंसायोग्य रहेको अध्यक्ष आचार्यको भनाइ छ । विविध कारणले विगतमा निर्माणमा ढिलाइ भइरहेको अवस्थामा यो वर्ष भने कामले धेरै तीव्रता पाएको उहाँको भनाइ छ । चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनास्थल भौगोलिकरुपमा निकै दुर्गम मानिन्छ । विगतमा ओझेलमा परेको योजनाको कामले नयाँ कार्यालय प्रमुख आएपछि तीव्रता पाएको निर्माण उपभोक्ता समितिका सचिव सन्तोष लिम्बूले बताए । पानीको हाहाकार रहेको अवस्थामा आयोजनाको कामले तीव्रता पाएपछि स्थानीयमा उत्साह थपिएको उहाँको भनाइ छ ।

    “यो योजना हाम्रो लागि अति नै महत्वपूर्ण छ”, उनले भने, “तर पनि विगतका वर्षहरु काम भने सोचेअनुसार अघि बढ्न सकेको थिएन । सबै पक्षको सक्रियता बढेसँगै अब भने पानी खाने अवस्था बनेको छ । यो योजनाले प्राथमिकता पाउनु यहाँका जनताको लागि सुखद् पक्ष हो । आयोजना निर्माणपछि घण्टौँ लगाएर डोको तथा ट्र्याक्टरमा पानी बाकेर खानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।”

    बस्तीभन्दा तल रहेको भदौरे मूललाई लिफ्ट गरेर करिब सात सय मिटरमाथि मेन्छ्याम फेदीमा पु¥याएर पानी वितरणको तयारी गरिएको हो । गुफा पोखरी पर्यटकीय क्षेत्र रहेकाले पानी विस्तारले यहाँ आन्तरिक  तथा बाह्य पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने स्थानीयको भनाइ छ ।


    images
    images

    Logo