काठमाडौं । सुरुङमार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण गर्न राति १० बजेदेखि विहान ४ बजेसम्म अत्यावश्यक वाहेकका सवारीसाधनलाई सञ्चालनमा रोक लगाइने भएको हो ।
सुरुङमार्ग निर्माणको लागि पुस १६ गतेदेखि १ सय दिनसम्म सवारी साधनको आउ–जाउ बन्द गरेर निर्माणको काम गर्न लागिएको हो । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द सडक हुने छ भने अत्यावश्यक सवारीसाधनलाई रोक नलगाइएको जनाइएको छ ।
सुरुङ निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निमार्ण कार्य गर्दा यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का पाएको छ ।
सुरुङ मार्ग निर्माण गर्ने क्रममा टनेलको साउथ पोर्टल, नर्थ पोर्टल, बाइपास टनेल नम्बर १ र २ तथा स्लोप एरियाको काम गर्दा बाटो साँघुरो भएका कारण निर्वाध रुपमा यातायात सन्चालनकै अवस्थामा काम गर्न असहज भएको भन्दै सवारी साधन बन्द गर्न स्वीकृतिका लागि अनुरोध गरेको थियो ।



