काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले भोलि पुस ६ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्न लागेको हो । पुसमा यो चौथोपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो ।
यसका लागि भोलि २ बजे बोलकबोल हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो १४ दिने निक्षेप संकलन उपकरणको पुस २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि राष्ट्र बैंकले पुस ४ गते २५ अर्ब रुपैयाँ, पुस ३ गते १० अर्ब रुपैयाँ र पुस १ गते १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तानेको थियो ।
गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो ।



