images
images

हाँकु लाग्नाको टावरमा पुग्यो विद्युत लाइन, अब २४ सै घण्टा टेलिफोन सेवा


  • 346
    SHARES
  • २०८० पौष १ गते आइतबार

    हाँकु लाग्नाको टावरमा पुग्यो विद्युत लाइन, अब २४ सै घण्टा टेलिफोन सेवा

    जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ । 

    माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन् । हातमा स्मार्ट मोवाइल सेट भए पनि नेटवर्क नै नहुँदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ । यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिए पछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । 

    यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो । वडाध्यक्ष रोकायाले भने,“टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पुर्याइएपछि सहज भएको छ । अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुनेछ । ” 

    समुन्द्र सतहबाट दुई हजार ८५० मिटर उचाईको हाँकुलाग्ना टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पुर्याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको  स्थानीयवासी प्रेमराज पाण्डेले जानकारी दिए । 

    १५ लाख रुपैयाको लागतमा  हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई  टेलिफोन पहुँच पुगेको छ । वडा कार्यालयको छ लाख रुपैया र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको नौ लाख ९६ हजार रुपैयाँ गरी कुल १५ लाख ९६ हजार रुपैयामा  टावरमा विद्युत लाइन पुर्याइएको हो । उक्त टावरमा समेत फोरजी इन्टरनेट सेवा जडान गरिएको वडाध्यक्ष रोकायाले बताए । 


    images
    images

    Logo