images
images

मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र


  • 504
    SHARES
  • २०८० मंसिर २९ गते शुक्रबार

    मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

    दमौली । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो । 

    यो सहित पूर्वी खण्डमा हालसम्म १२ दशमलब ५ किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । गत मङ्सिर २२ गते आँबुखैरेनी –३ गाउँपालिकाचोकदेखि पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडी बढाइएको थियो । 

    उनले भने, “यसअघि बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको खण्डमा गाउँपालिका चोकदेखि कालोपत्र जोडिएको छ । अब अर्कोतर्फ कालोपत्रको काम अगाडी बढाउने तयारी गरिएको छ ।”

    यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन दशमलब पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म पाँच दशमलब पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । उनले भने, “दुई ठाउँमा एकतर्फी रुपमा १२ दशमलब पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।”

    पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१दशमलब पाँच किलोमिटर दूरीको छ । 

    आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडी बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा ६ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ । 

    पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलब ४५ किलोमिटर यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल वैशाखसम्म रहेको छ ।

    पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई २०७८ साल भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइउको छ ।

    २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । 

    चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।  


    images
    images

    Logo