काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार फेरि १० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैकले आउँदो पुस १ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्ने भएको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
७ दिने यो निक्षेप संकलन उपकरणको पुस ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। यो मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन गरेकाे छ ।
यसअघि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले मसिंर २८ गते मात्र २० अर्ब, मसिंर २२ गते २० अर्ब, मंसिर २१ गते २५ अर्ब रुपैयाँ, मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।



