काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार ‘हेर्न नभ्याइने’ मा परेको छ। सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिएको भएता पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै दायर भएका विभिन्न रिट निवेदनका सम्बन्धमा सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, इजलासले टिकटकमाथिको प्रतिबन्धविरुद्धका सबै रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
ती रिट निवेदनमाथि यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।



