काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लगायत शीर्ष नेताहरुका नाममा काठमाडौं जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि सो पार्टीले विरोधस्वरुप आन्दोलन घोषणा गरेको छ । सोमबार मात्र सो दलका नेताहरुको नाममा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
उक्त कार्यको विरोधमा नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।
विज्ञप्तिमा आफ्ना नेताहरुलाई काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्यूँताएर २०८० मंसिर १८ गते पुक्राउ पुर्जी जारी गरिएको उल्लेख छ । अदालतले महासचिव विप्लव लगायत प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य माइला लामाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
उक्त कदम आफूहरुसँग सरकारले गरेको सहमति विपरीत रहेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लंघन मात्र होइन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो । राज्यको जिम्मेवार निकाय अदालतमा बसका न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
आफूहरुसँग गरिएको सहमती कार्यन्वन गर्न माग गर्दै नेकपाले संघर्षको कार्यक्रम घोषणा गरेको पनि उल्लेख गरेको छ । ‘यस्तो गैरकानुनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई अपिल गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ । नेकपाले मंसिर १९ गते साँझ मशाल जुलुस, २० गते न्यायाधीशको पुत्ला दहन र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।



