images
images

काठमाडौं महानगरले गर्यो ३ हजार बढी कुकुरको बन्ध्याकरण  


  • 337
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    काठमाडौं महानगरले गर्यो ३ हजार बढी कुकुरको बन्ध्याकरण  

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले विगत दुई महिनाको अवधिमा ३ हजार ४ सय ६९ सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।  

    सामुदायिक कुकुर नियन्त्रण गर्ने उद्देश्यले कामपाले गत असोज दोस्रो सातादेखि बन्ध्याकरण अभियान सुरु गरेको थियो । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि काठमाडौँ महानगरपालिकाले बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान सुरु गरेको हो ।     

    काठमाडौँ महानगरपालिका कृषि विभाग प्रमुख डा अवधेश झाका अनुसार यसै अवधिमा ५ हजार ३ सय २० वटा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत  दिइएको छ । 

    काठमाडौँ महानगरपालिका–४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट उक्त अभियान सुरु गरेको हो । अभियानअन्तर्गत आगामी पुस पहिलो सातासम्ममा ५ हजार ८ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिजविरुद्ध खोप दिने तयारी छ । 

    विभिन्न नौ सङ्घसंस्थाको सहकार्यमा गरिएको उक्त कार्य दैनिक २ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिएको छ ।  

    कुकुरको अनियन्त्रित प्रजनन हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि रहेकाले कामपाले सोही विधि अपनाएको जनाइएको छ । 

    हाल काठमाडौँ महानगरपालिकामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक  कुकुर बढी आक्रामक हुने गर्दछन् ।

    रोगी अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरुले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइएको छ । 

    नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा रु ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कामपाले केही समयभित्र चौपायालाई ओसारपसार गर्ने एम्बुलेन्स खरिद गर्ने पनि जानकारी दिएको छ । 


    images
    images

    Logo