काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महत्वपूर्ण पाँच विभागका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । केहि दिन अघि उनले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका थिए । आगामी आइतबारदेखि लागु हुने गरी कार्यकारी निर्देशकको जिम्मेवारी फेरीएको हो ।
यससँगै, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख डा. गुणाकर भट्टले भुक्तानी प्रणाली विभागको जिम्मा पाएका छन् । नियमन विभागको जिम्मा भने भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलले पाएका छन् ।
हाल मानव संशाधन तथा जनशक्ति व्यवस्थापन विभागमा कार्यरत तुलसीप्रसाद घिमिरेले विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । वित्त व्यवस्थापन विभाग हेर्दै आएका मुकुन्दप्रसाद क्षेत्रीले मानव संशाधन व्यवस्थापनको जिम्मा पाएका छन् ।
त्यसैगरी, हाल विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी समाल्दै आएका रामु पौडेलले वित्त व्यवस्थापनको जिम्मेवारी पाएका छन् । केही दिनअघि अन्य कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको थियो । त्यसलगतै थप पाँचजना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो ।
यसअघि मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको थियो । त्यस्तै उनको ठाउँमा मुद्रा व्यवस्थापन विभागमा प्रदीपराज पौडेललाई ल्याइएको थियो ।



