काठमाडौं । कर्णालीको हिमाली जिल्ला हुम्लामा यस वर्षकै पहिलोपटक हिमपात भएको छ । आइतबार देखि नै मौसममा बदली भई सोमबार बिहानै देखि हिमपात भएको हो ।
गत वर्ष उक्त स्थानहरुमा माघदेखि मात्र हिउँ परेको थियो । लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू हिउँ पर्न थालेपछि खुसी भएका छन् ।
हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी,चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।
त्यस्तै डोल्पा, मुगु र जुम्लाका माथिल्लो भागमा पनि हिँउ परिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । हिमपातले हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ । सोमबार मुगु , डोल्पा, हुम्ला र जुम्लामा हवाई उडान हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



