काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा छुट्ने आदेश भएकामध्ये तीनजनाले धरौटी बुझाएका छन् । हरिभक्त महर्जन, शमशेर मिया र नरेन्द्र केसीले धरौटी बुझाएका हुन् ।
केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०÷१० लाख रुपैयाँ धरौटी पनि बुझाएका थिए । धरौटी रकम बुझाए पनि उनीहरुलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले आइतबार रिहा नभएका जनाइएको छ ।
शुक्रबार उच्च अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उनलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउनुपर्ने भएकाले रिहा नगरेको जनाइएको छ ।
उच्च अदालतले ८ जनालाई थुनामै राख्ने उच्च अदालतको आदेश सदर गर्दै अन्यलाई धरौटीमा छाड्न आदेश गरेको थियो । त्यस्तै बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।



