images
images

समानुपातिककाे बन्द सूचीमा नाम रहेकाहरुले राष्ट्रिय सभाको चुनाव लड्न नपाउने


  • 282
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    समानुपातिककाे बन्द सूचीमा नाम रहेकाहरुले राष्ट्रिय सभाको चुनाव लड्न नपाउने

    काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा यसअघि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् । आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा उक्त नियम लागू हुने जानकारी गराएको हो । 

    ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन पाउने छैन ’ आयोगले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । 

    नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।

    राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।

    निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलकोे व्यवस्था रहेको छ ।


    images
    images

    Logo