images
images

सरकारले १ अर्ब ७४ करोड रुपैयाँको धान किन्ने


  • 306
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    सरकारले १ अर्ब ७४ करोड रुपैयाँको धान किन्ने

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष ५० हजार मेट्रिक टन धान किन्ने लक्ष्य लिएको छ । जसअनुसार कम्पनीले खरिद प्रक्रिया सुरु गरेको छ ।

    कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र बार्दियाको राजापुरबाट धान खरिद प्रक्रिया सुरु भएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले देशभरका १० वटा जिल्लास्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ ।

    कम्पनीका अनुसार झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज, बर्दियाको राजापुर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरबाट धान खरिद गर्नेछ । ‘सुदूरपश्चिम क्षेत्रमा धान भित्र्याइ सकेकाले त्यहाँबाट खरिद गर्ने प्रक्रिया सुरु गरेका हौँ,’ सुवेदीले भनिन्, ‘क्रमिक रूपमा पूर्वी क्षेत्रमा पनि धान खरिद गरिन्छ ।’

    यो वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद भइरहेको उनले बताइन् । ‘कम्पनीले मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल, मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल खरिद गरिरहेको छ,’ उनले भनिन्, ‘मसिनो धानको मूल्य जिल्लास्तरका मूल्य निर्धारण समिति निर्धारण गरे अनुसार खरिद गर्ने छौँ ।’

    कम्पनीले यो वर्ष मार्सी धान पनि खरिद गर्ने तयारी गरेको छ । जुम्लाबाट मार्सी धान खरिद गरिने न्यौपानेको भनाई छ । ‘यो वर्ष अपेक्षित रूपमा धान खरिद नभएपछि चामल पनि खरिद गर्ने छौँ ।’ उनले भनिन् ।

    कम्पनीले गत वर्ष १ लाख ३४ हजार क्विन्टल मात्रै धान खरिद गरेको थियो ।


    images
    images

    Logo