काठमाडौं । नेपाल यातायात मजदुर संघले विश्व शौचालय दिवसको अवसरमा आज एक ज्ञापन पत्र बुझाएको छ । नेपाल ट्रेड यूनियन कांगे्रसमा आबद्ध उक्त संघले बस बिसौनीमा शौचालय बनाउने व्यवस्था गर्न नगरपालिका संघलाई ध्यानाकर्षण गराउन उक्त ज्ञापन पत्र बुझाएको हो ।
विश्वभरी नोभेम्बर १९ लाई विश्व शौचालय दिवस मनाईने गरिएको छ भने नेपालमा पनि केही वर्ष देखी सरकार देखी विभिन्न संघ संस्थाले समेत यो दिवस मनाउने गरेको छ । वर्ष २०२३ मा अदृश्यलाई दृश्य बनाउने मुल नाराका साथ यो दिवस मनाउने भनिएको छ । नेपाल यातायात मजदुर संघले आज नेपाल नगरपालिका संघलाई प्रत्येक नगरपालिका भित्र पर्ने बस स्टयाण्डहरुमा मजदुर, महिला, यात्रु मैत्री शौचालय निर्माण गर्न आफना सदस्य संस्थाहरु लाई परिपत्र गर्न अनुरोध गरेको छ ।
सो समयमा संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष सुमन लामा ले नेपाल नगरपालिका संघका अधिकृत मधुसुदन रिजाल लाई ज्ञापन पत्र बुझाएको थियो सो समयमा नगरपालीका संघका तर्फबाट अधिकृत रिजालले यो विषय अत्यन्त महत्वपुर्ण रहेको र भोली नै सबै सदस्य संस्थाहरुलाई परिपत्र गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २०१८ बाट नै यो दिवस संघले मनाउन थालेको गत वर्षहरुमा सबै नगरपालिकाहरुमा संघका देशभरका जिल्ला समितीहरुले बस स्टयाण्डहरुमा शौचालय निर्माणको लागि ज्ञापन पत्र बुझाएको र हालको काठमाडौं महानगरपालिकाको शौचालय सम्बन्धको दृष्टिकोण पनि उनीहरुकै पहलमा भएको र सो समयमा काठमाडौं महानगरमा ज्ञापन पत्र बुझाउँदै काठमाडौं शहर भित्र मजदुर, यात्रु, महिला मैत्री शौचालय निर्माण गर्न नेपाल यातायात मजदुर संघले छलफल समेत गरेको संघका महासचिव जगन्नाथ गौतम बताउँछन् ।
नेपालमा ट्रेड युनियन क्षेत्रमा नेपाल यातायात मजदुर संघ मात्र एक ट्रेड युनियन हो जसले सन २०१८ देखी यो मुद्धामा आवाज उठाउदै आएको छ ।



