images
images

ढोरपाटन सिकार आरक्षमा दुई महिनामा पुगे २ हजारभन्दा बढी पर्यटक


  • 293
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    ढोरपाटन सिकार आरक्षमा दुई महिनामा पुगे २ हजारभन्दा बढी पर्यटक

    काठमाडौं । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ। पूर्वाधार अभावमा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे। केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएन।

    बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेण्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन। तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ। आर्थिक वर्ष २०७७७८ देखि नेपाली सेनाले ढोरपाटन प्रवेशद्वार देउरालीमै आगन्तुकको गणना गर्नुपर्छ। पछिल्लो समय विगतका तुलनामा ढोरपाटन आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ। पहिलो जनैपूर्णिमा र वैशाखेपूर्णिमा मात्रै आउने गरेकामा दुई वर्षयता बाह्रै महिना पर्यटक पुग्ने गरेका छन्। हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलाका लागि ढोरपाटन आउनेको संख्या ठूलो छ।

    अझ यस वर्ष दसैं बेला पर्यटकको संख्यामा वृद्धि आएको छ। विदेशी पर्यटक सिकारयामका बेला सिकार खेल्न हेलिकप्टरमार्फत आउने गर्छन्। त्यसबाहेक गाडी तथा मोटरसाइकलमार्फत घुम्न आउनेको संख्या पनि बढ्दै गएको छ। ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा ढोरपाटन घुम्न आउनेको संख्या २ हजार ६ सय ९ छ।

    असोज महिनामाभन्दा कार्तिक महिनामा बढी पर्यटक ढोरपाटन आएको सिकार आरक्षको तथ्यांकमा उल्लेख छ। असोजमा नेपाली ४७५ र विदेशी २१ गरी ४ सय ९६ ढोरपाटन आएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए। कात्तिक दसैं तिहारको महिना भएको हुँदा यस बेला २ हजार १ सय १३ पर्यटक आएको उनको भनाइ छ। कात्तिकमा २ हजार ९७ नेपाली र १६ विदेशी पर्यटक आएको उनले बताए।

    गत आर्थिक वर्षमा ७ हजार ६ सय ४५ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन आएकोमा चालु आर्थिक वर्षको चार महिनामा ३ हजार ९ सय ९९ पर्यटक भित्रिएको सूचना अधिकारी पङ्गेनीले बताए। अहिलेनै चार महिनामै चार हजार पर्यटक भित्रिसकेको भन्दै चालू आर्थिक वर्ष सकिँदासम्म गत वर्षको तुलनामा धेरै बढी आउने आँकलन गरेको उनले बताए।

    गत वर्ष १९ लाख ६२ हजार ५ सय राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा बढ्न सक्ने सूचना अधिकारी पङ्गेनी बताउँछन्।

    उनले भने, ‘अहिले पर्यटक आगमन निकै बढी छ, यही हिसाबले पर्यटक आइराखे यस बढी आउने सम्भावना देखिएको छ।  हरेक दिन आन्तरिकसँगै विदेशी पर्यटक ढोरपाटनमा आएको पाइन्छ, यसले राजस्व वृद्धि हुने छ।’

    ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आर्थिक वर्ष २०७७(७८ मा आन्तरिक पर्यटकले १०० रुपैयाँ प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ। शिकार आरक्षको अनुसार आर्थिक वर्ष २०७६(७७ सम्म विदेशी पर्यटकको मात्रै तथ्यांक राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकको तथ्यांक पनि राख्दै आएको छ।

    ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पछिल्लो समय प्रचारप्रसार बढी हुँदा पर्यटकको संख्या बढ्दै गएको बताउँछन्। अहिले ढोरपाटनमा पर्यटकका लागि बस्ने र खाने राम्रो व्यवस्था हुन थालेपछि घुम्न आउनेको संख्या हरेक दिन बढ्न थालेको कायतले बताए। पहिले बिहान गएर साँझ फर्ने गरे पनि अचेल धेरै जसो बास बस्ने गरि आउने गरेको उनको भनाइ छ। तर, बुर्तिबाङदेखि देउरालीसम्मको सडक निकै अप्ठ्यारो हुँदा पर्यटकले सास्ती खेप्नुपरेको भन्दै निर्माण कम्पनीले ढिला सुस्ती गरेको उनले बताए।

    ‘ढोरपाटन उत्कृष्ट गन्तव्यमा पर्छ। तर अहिलेसम्म विकास हुन नसक्दा धेरै पर्यटक भित्र्याउन सकेको अवस्था थिएन। अहिले पर्यटक आगमन निकै उत्साहजनक छ। अप्ठ्यारो सडकमा पनि पर्यटक गाडी लिएर आएको पाइन्छ। अहिले ढोरपाटनमा केही सुधार भएको छ, होटल रेष्टुरेण्ट पनि बढ्दै गए, पाहुनालाई खान र बस्नको समस्या छैन’, कायतले भने, ‘प्रचारप्रसार पनि तीव्र हुँदा पहिलेको तुलनामा अहिले पर्यटक धेरै आएको पाएका छौँ, अझै बढ्ने अपेक्षा गरेका छौं।’ 

     


    images
    images

    Logo