images
images

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता, चार सडक आयोजनाको निर्माण कार्य तीव्र


  • 252
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    सडक पूर्वाधार विकासमा सेनाको सक्रियता, चार सडक आयोजनाको निर्माण कार्य तीव्र

    काठमाडौं । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

    राष्ट्रिय गौरवका काठमाडौँ तराईरमधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोङ्घप्पा), कर्णाली करिडोर (लालीबगर–दुल्लीकुना खण्ड र घाटपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनका अघि बढेका सडक आयोजना हुन् । 

    बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक र दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ । ती सडकको लम्बाई कूल २ सय ७४ दशमलव ५३७ किलोमिटर रहेको छ । 

    रानी, विराटनगरदेखि किमाथाङ्कासम्मको ३ सय ९० किलोमिटर दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये सेनाको व्यवस्थापनमा खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत (च्याम्ताङ–घोङघप्पा खण्ड) १० दशमवल ५१ किमी सडक निर्माण कार्य भइरहेको छ । २०७७ साल माघ २४ गतेबाट निर्माण कार्य प्रारम्भ एको उक्त सडक नौ मिटर फराकिलो हुनेछ । 

    गत आवसम्म उक्त सडकको प्रगति ६ दशमवल ५ किलोमिटर रहेको र चालु आवमा २ किमी नयाँ ट्र्याक निर्माण र ३ दशमवल ५ किलोमिटर ट्र्याक स्तरोन्नतिको लक्ष्य राखिएको छ । निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेका सडक पूर्वाधार आयोजना निर्माण कार्यमा प्राप्त जिम्मेवारीलाई गुणस्तरीय लक्षित समयसीमाभित्रै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किमी र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डको ११ दशमलव ५ किलोमिटर क्षेत्रमा सेनाले काम गरिरहेको छ ।

    लालिबगर–दुल्लिकुन्ना खण्डमा गत आवसम्म ६ किलोमिटर र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा ३.५ किलोमिटर ट्र्याक खोलिएको छ भने चालु आवमा लालिबगर–दुल्लिकुन्ना खण्डमा २.५ किलोमिटर नयाँ ट्र्याक निर्माण र घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्डमा १.५ किलोमिटर ट्र्याक निर्माणको गर्ने लक्ष्य राखिएको छ । बाँकेको जमुनाहादेखि हुम्लाको हिल्सासम्मको सो आयोजनाको कुल लम्बाई ६ सय ८२ किलोमिटर छ । 

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक (१ सय ५४ किलोमिटर )मध्ये सेनाको व्यवस्थापनमा कूल ९२ किलोमिटर क्षेत्र निर्माण भइरहेको छ । सो आयोजनाको गत आवसम्म ३५.५ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको छ भने चालु आर्थिक बर्षमा २ दशमवल ५ किलोमिटर नयाँ ट्र्याक निर्माण र ३ किलोमिटरस्तरोन्नतिको लक्ष्य राखिएको छ । 

    यस्तै महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर (तुषारपानी–टिङ्कर खण्ड) सडक आयोजनाको कूल ४ सय २५ किलोमिटरमध्ये सेनाले ७९ किलोमिटर सडक सेनाको अगुवाईमा निर्माण कार्य भइरहेको छ । गत आर्थिक बर्षसम्म १० दशमलव ४ किलोमिटर सडक ट्र्याक निर्माण सम्पन्न भएको छन् चालु आवमा नयाँ ३ किलोमिटर र २ किलोमिटर स्तरोन्नतिको लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ । 

    कडा चट्टानयुक्त भूबनोट तथा अग्ला पहाड र भीर भएका कारण ती सडक आयोजनामा काम गर्न चुनौतीपूर्ण रहेको  सेनाका प्रवक्ता भण्डारीको भनाइ छ । सेनाले यसअघि मुलुकका हिमाली तथा पहाडी क्षेत्रमा विकट भौगोलिक अवस्थामा रहेका विभिन्न १० वटा सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । ती सडकको कूल लम्बाई १ हजार ४ सय ११ किलोमिटर रहेको छ । 

    सेनाले सुर्खेत–जुम्ला ८८ किलोमिटर, बेनी–जोमसोम ९१ किलोमिटर, छिन्चु–जाजरकोट ४५ किलोमिटर, बेँसीसहर–चामे ६५ किलोमिटर, नाङ्मा–गमगढी ९४ किलोमिटर, द्रुतमार्गको ‘ट्र्याक’ निर्माण ८० किलोमिटर, मैलुङ–स्याफ्रुबेँसी १७ किमी, जाजरकोट– डोल्पा (दुनै) १ सय १७ दशमलव ७ किमी, कालीगण्डकी कोरिडोर (गुल्मी–बागलुङ खण्ड) ७५ दशमलव ४ किलोमिटर र कर्णाली कोरिडोर (खुलालु–लैफु–सलिसल्ला खण्ड) १ सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

    यसबीचमा सेनाले प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा हालसम्म ३७ वटा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्न सहयोग पुर्याएको छ । संविधानमा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको अतरिक्त विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा सते परिचालन गर्न सकिने व्यवस्था छ । 

    राष्ट्रिय सुरक्षा नीति २०७५ मा भौतिक पूर्वाधारमा जोड दिने एवं राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन एकीकृत कार्ययोजना, विकास र समृद्धिका कार्यमा नेपाली सेना संलग्न हुने उल्लेख छ । नेपाली सेना राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण कार्यमा लामो समयदेखि निरन्तर सहभागी हुँदै आएको छ । 


    images
    images

    Logo