images
images

आशा लघुवित्तमा कर्मचारीको विद्रोह, एक सय ९७ जनाले दिए सामूहिक राजीनामा


  • 850
    SHARES
  • २०८० मंसिर २ गते शनिबार

    आशा लघुवित्तमा कर्मचारीको विद्रोह, एक सय ९७ जनाले दिए सामूहिक राजीनामा

    काठमाडौं । साविकको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि अन्याय भएको भन्दै हाल आशा लघुवित्तमा कार्यारत एक सय ९७ कर्मचारीले सामूहिक राजीनामा दिएका छन् ।

    राष्ट्र उत्थान र आशा लघुवित्त गाभिएर केही समय अघि आशा लघुवित्तको नाममा एकीकृत कारोबार शुरु भएको थियो भने साविकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारी पनि आशा लघुवित्तमा सरुवा भएका थिए । तर ती कर्मचारीलाई अनावश्यक दबाब दिएको तथा संस्था छाड्ने अवस्था निम्त्याएको भन्दै कर्मचारीले ११ बुँदे माग अघि राख्दै सामूहिक राजीनामा दिएका हुन् । राजीनामा सँगै मङ्सिर ४ गतेसम्म माग पुरा नभए कार्यालयमा तालाचाबी लगाउने र माग पुरा भएपछि मात्र कार्यालय खोल्ने चेतावनी पनि कर्मचारीले दिएका छन् ।

    कर्मचारीहरुले साविक राष्ट्र उत्थानमा नियुक्त भएका सम्पूर्ण तालिमे कर्मचारीहरुलाई गत असोज १ गतेदेखि लागू हुनेगरी स्थायी नियुक्ति दिनुपर्ने, मासिक लक्ष्य प्रगतिको बहानामा दिइने प्रेसर हटाउनुपर्ने, शैक्षिक योग्यताको आधारमा विभागीय प्रमुख नियुक्ति गर्नुपर्ने, शनिबार तथा सार्वजनिक बिदाको दिन काममा लगाउन नपाउने, काममा लगाउनु पर्ने आवश्यकता भए अतिरिक्त भक्ता वा सट्टा बिदाको व्यवस्था हुनुपर्ने लगायत माग राखेका छन् ।
     
    यसैगरी संस्थाका निमित्त प्रमुख कार्यकारी निर्देशक बद्रि प्रसाद दुलालको नेतृत्वमा कर्जा असुली तथा अनुगमन विभागका विभागीय प्रमुख रविन खतिवडा र शाखा सञ्चालन तथा तालिम विभागका विभागीय प्रमुख पुष्कर मिश्रले राष्ट्र उत्थानको शाखा निरीक्षण गर्ने बहानामा मादक पदार्थको सेवन गरी सम्पूर्ण कर्मचारीहरुमाथि नीति नियम विपरीत अभद्र व्यवहार गरेको पनि कर्मचारीले आरोप लगाएका छन् ।

    कर्मचारी बढुवा घटुवा, सरुवा, नियुक्ति गर्दा पूर्ण रूपमा विनियमाबलीमा तोकिए बमोजिम नगरी मनलाग्दी तवरले कुनै कर्मचारीलाई पाँच वर्षसम्म आफ्नो पायक पर्ने शाखामा राख्ने र कुनै कर्मचारीलाई ६/६ महिनामा सरुवा गरिएको आरोप लगाउँदै असोज महिनामा गरिएको सरुवा र घटुवा तत्काल उल्टाई फिर्ता लिन पनि कर्मचारीले माग गरेका छन् ।


    images
    images

    Logo