काठमाडौं । दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा करिब १ करोड रुपैयाँका धनमाल चोरी भएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा ३७ चोरीका घटना हुँदा १ करोड ३ लाख ६६ हजार १ सय ९५ रुपैयाँ बराबरका धनमाल चोरी भएका हुन् ।
काठमाडौंका २० ठाउँबाट २७ लाख ७९ हजार ४ सय ४५ रुपैयाँका धनमाल चोरी भएका छन् । ललितपुरका १० ठाउँबाट २५ लाख ३० हजार ७ सय ५० रुपैयाँका धनमाल चोरिएका छन् ।
त्यस्तै भक्तपुरका ७ ठाउँबाट ५० लाख ५६ हजार रुपैयाँका धनमाल चोरी भएको छ। यी घटनामा संलग्नताको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यही २० दिनको अवधिमा काठमाडौंको ५ ठाउँमा लुटपाट भएको छ । लुटपाटमा संलग्नको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।



