काठमाडौं । छिमेकी मुलुक भारतको वायु प्रदूषण नेपाल भित्रिएको छ । दिल्लीको प्रदूषण फैलाउने वायु पश्चिम नेपालबाट केहीदिन अघिदेखि नै प्रवेश गर्न सुरु भएको र यो क्रम जारी रहने भएकाले काठमाडौं पनि यसको उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
पश्चिमबाट प्रवेश गरेको उक्त विषाक्त हावा उपत्यकामा जमेर बस्ने भएकाले जोखिममा रहेको जनस्वास्थ्यविद् डा समिर मणी दिक्षितले बताए ।
दूषित हावाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए । विषेशगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीहरु वायु प्रदूषणबाट बढी प्रभावित हुने जनस्वास्थ्यविद् दीक्षितले बताए ।
चिसोको समयमा प्रदुषण बढी हुने भएकाले बिहान मर्निङवकमा नजानसमेत उनले आग्रह गरे । यतिवेला काठमाडौंमा वायु प्रदूषण मध्यम खालको रहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा अहिले वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ ।
प्रदूषणले वायुको गुणस्तर सूचांक उच्च भएपछि निजी सवारी साधनको प्रयोगमा रोक लगाइएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् । दीपावलीको अवसरमा पटाकाहरू पड्काएपछि दिल्लीमा प्रदूषण तीव्र रुपमा बढेको दिल्ली प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ ।
दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दीपावली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो । दिपावली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिबन्ध लगाएको छ ।



