काठमाडौं । तिहार अन्तर्गत आज गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ ।
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। भगवान विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।
यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।
नेवार समुदायमा आज म्हः पूजा
आजैको दिन नेवार समुदायमा म्हः अर्थात् (आत्म) पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आजै नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् गौतम बताउँछन् ।
आत्म सन्तुष्ट बनाइ खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भइ आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
भोलि तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । भोलि बिहान १० बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भोलि दिनभरि नै टीका लगाउन सकिने समितिले जनाएको छ ।



